🎧 Radio Namaste



अमेरिकासँगकाे खेल नाटकीय रुपमा बराबरी

आईसीसी विश्वकप लिग – २ त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा नेपालले अन्तिम दुई बलमा दुई विकेट लिएपछि अमेरिकासँगकाे खेल नाटकीय रुपमा बराबरीमा सकिएकाे छ । दुवैले समान २७४ रन बनाएपछि खेल टाइ भयाे र १-१ अंक जाेडे ।

ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २७४ रन बनाएको थियो । जवाफमा स्टेभेन टेलरले शतक प्रहार गरे पनि अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन नै बनायो ।

बिज्ञापन

अन्तिम ओभरमा अमेरिकालाई जितका लागि ६ रन चाहिएकाे थियाे । नेपालमा आदिल अन्सारीले बलिङ गरेकाे उक्त ओभरमा सबैखाले नाटक  देखियाे । सुरुआती तीन बलमा अमेरिकाले एक/एक रन जाेड्याे । चाैथाे बल नाे बल भएपछि अमेरिकाले नाे बलमा एक रन जाेड्दै रन बराबरी गर्दै जित नजिक पुगेकाे थियाे ।

तर, अन्तिम दुई बलमा नेपालले विकेट लियाे । पाँचाै बलमा आदिलले आराेन जाेन्सलाई राेहित पाैडेलबाट क्याचआउट गराए । त्यस्तै अन्तिम बलमा आदिल र दीपेन्द्र सिंह ऐरीले राहुल जरिवालाई रनआउट गर्दै खेल बराबरी गरेका हुन् ।

अमेरिकाका लागि ओपनर टेलरले ११४ रन बनाए । १२३ बल खेलेका उनले ११ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान मोनाक पटेलले ८५ रन जोडे ।

बिज्ञापन

अमेरिकालाई जितबाट रोक्न नेपालका लागि नेपालका लागि डेब्युमै सनसनीपूर्ण प्रदर्शन गरेका आदिलले ९ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले एक/एक विकेट लिए ।

आदिलको डेब्यु अनि ओपनरद्वय कुशल भुर्तेल र शेखको पुनरागमनपछि नेपालले ओमानविरुद्धको खेलेको खेलमा तीन परिवर्तन गरेको थियो ।

अघिल्लो खेलको तुलनामा सुधारिएको ब्याटिङ गरेको नेपाल अन्तिमतिर सम्हालिन नसक्दा दुई बल अघि नै अलआउट हुनुपरेको थियो ।

नेपालका लागि तीन खेलाडीले अर्धशतक प्रहार गरे पनि फिनिसिङ चुस्त रहन सकेन । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६२ रन बनाउँदा आसिफले ६१ र देव खनालले ५४ रन योगदान गरे ।

पहिलो विकेटका लागि आसिफ र कुशल भुर्तेलले ५६ रनको साझेदारी गरेका थिए । दुवै खेलाडीले चोटका कारण अघिल्लो खेल गुमाएका थिए ।

त्यसकै कारण कुशलले अमेरिकासँग खेल्दा संघर्ष गर्नुपरेको देखियो । कुशलले ३६ बलमा कुनै बाउन्ड्री प्रहार नगरी १९ रन बनाएर आउट भए । आसिफले ७० बल खेल्दा ६ चौका प्रहार गरे । दोस्रो विकेटका लागि आसिफले देव खनालसँग ६२ रनको साझेदारी गरे ।

३७औं ओभरमा आउट हुनुअघि देवले रोहित पौडेलसँग तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरे । देवले ६९ बल खेल्दै ३ चौका प्रहार गरेका थिए । त्यसक्रमपछि डेब्युमा पाँचौ नम्बरमा ब्याटिङ गरेका आदि अन्सारीसँग रोहितले चौथो विकेटका लागि ६५ रनको साझेदारी गरे । यो नै नेपाली इनिङ्सको सर्वाधिक साझेदारी हो ।

नेपाली इनिङ्समा आदिल र रोहितले छक्कासमेत प्रहार गरेका थिए । रोहितले ७२ बल खेल्दै तीन चौका र एक छक्का मद्दतमा ६२ रन बनाए । उता डेब्युमै छाएका आदिलले २४ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा ३६ रन जोडे । ४४औं ओभरमा आदिल आउट भएपछि नेपालले लगातार विकेट गुमायो ।

नेपालले ३१ रनका लागि अन्तिम ७ विकेट गुमाएको थियो ।

अमेरिका लागि रस्टी थेरोनले सर्वाधिक चार तथा अल खान र सौरभ नेत्रभाल्करले दुई/दुई विकेट लिए ।

एक दिवसीय अन्तर्राष्ट्रियको डेब्युमै ब्याट र बलबाट उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई हारबाट जोगाएका आदि अन्सारी खेलको म्यान अफ दि म्याच घोषित भए ।

Source:Onlinekhabar.com

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर