दाङ, असोज २३ — बिष्णु गाेराथाेकी
मार्क इन्टरनेसनल कलेज घोराहीले धार्मिक र ऐतिहासिक महत्त्व बोकेको बराहक्षेत्रमा सरसफाइ कार्यक्रम सञ्चालन गर्नुका साथै चारवटा डस्टबिन हस्तान्तरण गरेको छ।
बराहक्षेत्र संरक्षण तथा सम्बर्द्धन धार्मिक समितिको संयोजनमा सम्पन्न कार्यक्रममा समितिका अध्यक्ष देव बहादुर घर्ती प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियाे । उहाले २०५२ सालमा स्थापना भएको समितिले वर्षभर पूजा सञ्चालन गर्दै आएको र प्रत्येक वर्ष करिब ६ हजार बलि चढ्ने जानकारी दिनुभएको छ ।
उहाका अनुसार, बराहक्षेत्रको आर्थिक स्रोतहरूमा दर्शनार्थीको भेटी, विभिन्न संघसंस्थाबाट प्राप्त आर्थिक सहयोग, र क्यामरा परिचालनबाट संकलित शुल्क रहेका छन् । व्यावसायिक होटल सञ्चालनका लागि संरचना निर्माण भइसकेको र तीन जना कर्मचारीको मासिक ४६ हजार रुपैयाँ खर्च हुनेसमेत उनले बताउनुभयो छ ।
“मेराे कार्यकालमा कुनै पनि भ्रष्टाचार भएको छैन,” अध्यक्ष घर्तीले भन्नुभयाे “समान खरिद जस्ता कार्यमा प्रत्येकपटक नयाँ समिति बनाएर पारदर्शी ढंगले काम भइरहेको छ।” उहाले ८० बिगाहा क्षेत्रफलमा फैलिएको बराहक्षेत्र सबैको साझा सम्पत्ति भएकाले सबै पक्षको सहयोग आवश्यक रहेको बताउनु भएको छ ।
कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख लालमणि बसेलले गरेका गर्नुभएको थियाे । उहाले कलेजले हरेक वर्ष सरसफाइ कार्यक्रममा सहयोग गर्दै आएको उल्लेख गर्दै यस वर्ष बराहक्षेत्रमा कार्यक्रम सम्पन्न गरिएको बताउनु भएको छ ।
“कलेजबाट समितिलाई चारवटा डस्टबिन हस्तान्तरण गरिएको छ,” बसेलले भन्नुभयाे, “सार्वजनिक सम्पत्ति र सम्पदाको संरक्षणमा सबैले अग्रसर हुन जरुरी छ।”
कार्यक्रममा कलेजका शिक्षक, कर्मचारी, बिबिएस र एमबिएस तहका विद्यार्थीहरू, समाजसेवी, बौद्धिक व्यक्तित्व र पत्रकारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण शिक्षक नारायण पौडेलले गर्नुभएकाे थियाे ।