🎧 Radio Namaste



माओवादी केन्द्रले मन्त्रीहरुलाई फिर्ता बोलायो

२९ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बादलसहित २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको भोलिपल्ट माओवादी केन्द्रले स्थायी कमिटीको बैठक राखेर मन्त्रीहरुलाई फिर्ता बोलाएको हो ।

बिज्ञापन

सरकारमा बादल गृहमन्त्री, लेखराज भट्ट उद्योगमन्त्री, टोपबहादुर रायमाझी ऊर्जामन्त्री, मणि थापा खानेपानीमन्त्री, प्रभु साह सिँचाईमन्त्री, दावा लामा खेलकुदमन्त्री र गौरीशंकर चौधरी श्रममन्त्री छन् ।

बादल माओवादी केन्द्रको नेतृत्व गर्दै ओली सरकारमा गएका हुन् भने भट्ट माओवादीकै कोटामा मन्त्री बनेका थिए । पाँचमन्त्री भने साबिकको नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएपछि बनेका हुन् । नेकपा विभाजनमा प्रचण्ड–माधव समूह छाडेर आफूतिर आएका उनीहरुलाई प्रधानमन्त्री ओलीले मन्त्री बनाएका हुन् ।

२३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी ब्यँुताएपछि माधवकुमार नेपाल समूह एमालेमै सक्रिय भएका छन्, तर बादलसहितको समूह माओवादी केन्द्रमा फर्किएका छैनन् ।

बिज्ञापन

शुक्रबार एमाले अध्यक्ष ओलीले आफ्नो समूहको बैठक राखेर बादलसहितका २३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् । बादललाई बागमती प्रदेशको इन्चार्ज र भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी समेत दिएका छन् ।

२४ घण्टे स्पष्टीकरण माग

माओवादी केन्द्रको बैठकले पार्टी परित्याग नगरी एमाले अध्यक्ष ओलीले दिएको जिम्मेवारी स्वीकार गरेका नेताहरुलाई २४ घण्टे स्पष्टीकरण समेत सोधेको छ । उहाँहरुले दल त्याग गर्नु भएको हो वा के हो स्पष्ट पार्न भनिएको नारायणकाजी श्रेष्ठले बताए ।

माओवादीमा नफर्किए उनीहरुलाई कारबाही गर्ने माओवादी केन्द्रको तयारी छ । त्यसो भएमा उनीहरुको संसद पद जान्छ । ओलीतिर लागेका उर्जामन्त्री रायमाझीले अब सांसद र मन्त्री पद गएपनि ओलीको साथ नछोड्ने बताएका छन् ।

समर्थन भने कायमै

सरकारलाई दिएको समर्थन भने फिर्ता नलिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए । माओवादीले आइतबार ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएको छ । तर चैत २ गतेका लागि राखिएको राष्ट्रिय भेला भने अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरिएको छ ।

Source :onlinekhabar

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर