युएईमाथि ९ रनको जित निकाल्दै नेपाल आइसिसी विश्वकप छनोटमा

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज भएको लिग चरणको अन्तिम खेलमा नेपालले युएईमाथि ९ रनको जित निकाल्दै नेपाल आइसिसी विश्वकप छनोटमा पुगेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा खराब प्रकाशका कारण खेल रोकिएपछि नेपाल डिएल मेथडमा विजयी भएको हो।

बिज्ञापन

यसअघि दुई खेल अगावै एकदिवसीय मान्यता जोगाएको नेपालले आजको जित सँगै आइसिसी लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्ने प्रावधान अनुसार नेपाल विश्वकप छनोटमा पुगेको हो।

आजको जितसँगै नामिबियालाई पछि पार्दै नेपाल लिग-२ को अंक तालिकामा तेस्रो स्थानमा उक्लियो। नेपालले ३६ खेलबाट ४० अंक जोड्यो। नामिबियाको ३९ अंक मात्र थियो। नेपालको जितले भने नामिबियाले क्वालिफायर प्लेअफ खेल्नुपर्ने भएको छ।

नेपालले लिग-२ का पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्यो। एक महिनामा लिग-२ को अंक तालिकाको छैटौं स्थानमा अघिल्लो महिना १८ अंक मात्र रहेको नेपालले सानदार पुनारागमन गर्दै तेस्रो स्थानमा उक्लिएको हो । तर एक महिनाका १२ मध्ये ११ खेल जितेसँगै नेपालले ४० अंक जोडेर सानदार पुनरागमन गर्‍यो।

बिज्ञापन

१० टिमबीच आमागी जुनमा जिम्बावेमा हुने विश्वकप छनोटमा लिग-२ बाट स्कटल्यान्ड, ओमान र नेपाल पुगेका छन्। यस्तै आयोजक जिम्बावे र नेदरल्यान्ड्सले पनि छनोट खेल्नेछन्। टेस्ट राष्ट्रले खेल्ने आइसिसी सुपर लिगबाट थप तीन राष्ट्रले विश्वकप छनोट खेल्नु पर्नेछ।

अहिलेको अवस्थामा सुपर लिगको शीर्ष आठ भित्र नरहेका दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिजले विश्वकप छनोट खेल्नु पर्नेछ। विश्वकप छनोटमा क्वालिफायर प्लेअफमा दुई टिम पनि पुग्नेछन्। यसरी १० टिमबीच हुने छनोटबाट दुई टिम भारतमा अक्टोबरमा हुने विश्वकपमा पुग्नेछन्। विश्वकपमा सुपर लिगमा ८ टिम र विश्वकप छनोटका २ टिम गरी १० टिमबीच प्रतिस्पर्धा हुनेछ।

बिहीबार कीर्तिपुर मैदानमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाएको स्थितिमा खेल प्रकासका कारण रोकिएको थियो। त्यतिबेला नेपालका लागि गुल्झन झाले नटआउट ५० रन र दीपेन्द्रसिंह ऐरीले १० रन बनाएर खेलिरहेका थिए।

तर अम्पायरले प्रकाशका कारण खेल रोकेपछि खेल नेपालले डिएल मेथडमा ९ रनले जित्यो।

हजारौं दर्शक उर्लिएको कीर्तिपुर मैदानमा नेपालले अहिलेसम्मकै उत्कृष्ट खेल देखायो। युएईले दिएको ३११ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले सुरुवातमै दबाब झेले पनि विस्तारै आफ्नो पक्षमा परेको थियो। चार ब्याट्सम्यानले अर्धशतक प्रहार गर्दा नेपालले उत्कृष्ट जित निकाल्यो। नेपालका लागि गुल्झनसँगै कुशल भुर्तेल, भीम सार्की र आरिफ शेखले अर्धशतक हिर्काए।

खेलमा नेपालले तेस्रो बलमा आसिफ शेखलाई शून्यमा गुमाएको थियो। तेस्रो ओभरमा कुशल मल्ल ५ रनमै आउट भएपछि नेपाल सुरूमै दबाबमा परेको थियो।

त्यसपछि रोहित पौडेल १६ रन जोडेर आउट भए। रोहित सातौं ओभरको पाँचौ बलमा आउट हुँदा नेपालले ३ विकेट गुमाउँदा ३७ रन जोडेको थियो।

त्यसपछि ओपनर कुशल भुर्तेल र भीम सार्कीले नेपालको इनिङ उकासे। कुशल ५० रन जोडेर आउट भएका थिए। उनले ३५ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। कुशलले भीमसँग चौथो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए।

कुशल आउट भएपछि भीमले आरिफ शेखसँग अर्को उत्कृष्ट साझेदारी गरे। भीमले आउट हुनुअघि ६७ रन जोडेका थिए। उनले ७६ बलमा ९ चौका हिर्काए। उनले पाँचौ विकेटका लागि आरिफसँग ८३ रनको साझेदारी गर्दै नेपालको आसा पलाएको थियो। भीम ३१ ओभरको अन्तिम बलमा आउट हुँदा नेपालले ५ विकेटको क्षतिमा १८१ रन जोडेको थियो।

आरिफ शेखले पनि अर्धशतक बनाएपछि नेपालले विस्तारै खेल आफ्नो पक्षमा परेको थियो। आरिफले जुनइद खानको एलबिडब्लूको धरापमा पर्नुअघि ५२ रन जोडे। आरिफले ६२ बलमा २ चौका हिर्काए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ६ विकेटको क्षतिमा ३१० रन जोड्यो।

युएईका लागि सातौं नम्बरमा ब्याटिङ गरेका आसिफ खानले आक्रामक ब्याटिङ गरे। उनले ४२ बलमा नटआउट १०१ जोडे।

यस्तै वृत्य अरिवन्दले अन्तिम बलमा आउट हुनुअघि ९४ रन जोडेका थिए। युएईले अन्तिम ७ ओभरमा ११४ रन जोडेको थियो। ४३ ओभरमा दुई रन पूरा गरेको युएईले पछिल्ला ओभरमा उत्कृष्ट ब्याटिङ गरेको थियो।

नेपालका दिपेन्द्रसिंह ऐरीले २ विकेट लिए भने ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले १-१ विकेट लिए।

अघिल्ला खेलमा किफायती बलिङ गर्ने गरेका सन्दीप बिहीबार भने महँगो सावित भए। उनले १० ओभरमा ८० रन खर्चिएर १ विकेट लिए।

सन्दीपलाई ४९ ओभरमा युएईका आसिफले लगातार चार छक्का प्रहार गरेका थिए।

आइसिसी विश्वकप क्रिकेट लिग-२ मा नेपालका पछिल्ला १२ खेल

युएईमाथि डिएल मेथडमा ९ रनको जित, कीर्तिपुर, १६ मार्च २०२३
पिएनजीमाथि ९ विकेटको जित, कीर्तिपुर, १३ मार्च २०२३
युएईमाथि १७७ रनको जित, कीर्तिपुर, १२ मार्च २०२३
पिएनजीमाथि ५२ रनको जित, कीर्तिपुर, ९ मार्च २०२३
युएईमाथि ४२ रनको जित, दुबई, ६ मार्च २०२३
पिएनजीमाथि ३ विकेटको जित,दुबई, ३ मार्च २०२३
युएईसँग ६८ रनले पराजित, दुबई, २ मार्च २०२३
पिएनजीमाथि ४ विकेटको जित,दुबई, २७ फेब्रुअरी २०२३
स्कटल्यान्डमाथि २ विकेटको जित, कीर्तिपुर, २१ फेब्रुअरी २०२३
नामिबियामाथि ३ विकेटको जित, कीर्तिपुर, १८ फेब्रुअरी २०२३
स्कटल्यान्डमाथि ३ विकेटको जित, कीर्तिपुर, १७ फेब्रुअरी २०२३
नामिबियामाथि २ विकेटको जित, कीर्तिपुर, १४ फेब्रुअरी २०२३

ताजा
लमही नगर बिकास समितीलाई डस्टबिन
बालबिबाह न्यूनीकरण तथा महिला प्रजनन स्वास्थ सम्बन्धि २ दिने सचेतता मुलक कार्यक्रम सम्पन्न।
स्ववियु पद्माेदयले बुझायाे ६ बुदे मागपत्र, पाँच दिनभित्र लिखित सुनुवाई गर्न ध्यानाकर्षण

संबन्धित समाचार

लमही नगर बिकास समितीलाई डस्टबिन

बालबिबाह न्यूनीकरण तथा महिला प्रजनन स्वास्थ सम्बन्धि २ दिने सचेतता मुलक कार्यक्रम सम्पन्न।

स्ववियु पद्माेदयले बुझायाे ६ बुदे मागपत्र, पाँच दिनभित्र लिखित सुनुवाई गर्न ध्यानाकर्षण

ग्लोबल मनी वीक अन्तर्गत कर्णाली डेभलपमेन्ट बैंकको बित्तिय साक्षरता कार्यक्रम