मेरो पनि दिदी भैदेको भए!

दिपक घिमिरे ।

बिज्ञापन

तिहार आफैंमा एउटा रमाइलो पर्व हो। झन् बच्चा उमेरमा दसैंभन्दा महत्वपूर्ण हुन्थ्यो यो तिहार। छोरा मान्छेको लागि त दसैंमा न दक्षिणा पाइनु, न त राम्रो लुगा। त्यसैले मेरा लागि तिहार सबभन्दा ठूलो पर्व हो।

आमाले आँगनमा सुकाएका रंगीचंगी सिंकामारी रोटी अनि घरभित्र पाक्दै गरेका फिनी रोटीले हामी बच्चाहरूलाई घर छाडेर गाउँ डुल्ने फुर्संदै दिँदैनथ्यो।

मादल बनाउने बाजेहरूका घर आँगनमा मादल किन्ने र बनाउनेका  भिडभाड हुन्थे। हामी पनि कैयौं पटक मिसिन जान्थ्यौं, त्यही भिडभाडमा। थोत्रो मादलमा खरी लगाइदिनु भन्दै।

बिज्ञापन

कपिका पानामा आफूले जाने अनुसारको भैलो लेख्थ्यौं, ग्रुप बनाउँथ्यौं अनि सुरू गर्थ्यौं देउसी–भैलो कार्यक्रम। यी र यस्ता अनेकौं कथा छन् मनभरी। ती भैलो टोलीमा समावेश हुने कैयौं साथीहरूका तस्बिर छन् दिमागभरि।
तर जीवन बढ्दै जाँदा त्यही रमाइलो लाग्ने तिहार पर्व जीवनकै दुखद दिनमा बित्छन् आजभोलि। ती बालापनका तिहार सम्झँदा हाँस्न मन लाग्छ, तर सबैको निधारमा सप्तरंगी टीका देख्दा खल्लो लाग्छ आजभोलि।

मेरो पनि निधार रङ्गिन्थ्यो ऊ बेला, जतिबेला हाम्रो घरमा दिदी थिई। जब भगवानले हामीबाट दिदी खोसे, तब तिहारको त्यो रमाइलो पनि खोसियो।

मैले मेरो दिदीको अत्यास मेटाउन बाहिर दिदी पनि बनाए। तर जुन दिदीको माया मलाई चाहिएको थियो, त्यो माया मैले बनाएको दिदीबाट पाइनँ।

अनि वर्षौं भयो मैले तिहारमा टीका लगाउन छाडेको।

भगवानले दिदी खोसेपछि आएका तिहारहरूले हाम्रो परिवारलाई खुसी बनाउन सकेका छैनन्। त्यसैले पनि म तिहारमा रमाउन सक्दिनँ।

बा र आमा पनि तिहारमा खुसी हुन सक्नुहुन्न। बाले छोरा छाडेर आउँदैन भन्दिनु हुन्छ, आमा पनि त्यस्तै भन्नुहुन्छ। अनि फूपू र मामा हाम्रै घरमा आए तिहार रमाइलो नत्र तिहार पीडा दिन मात्र आउँछ।

हामी तीन भाइ, तीनै जना फरक फरक देशमा। सबै जना एउटै घरमा हुँदा एक वर्ष भाइ भाइले पनि टीका लगायौं, ठ्याक्कै दिदी भाइले जस्तै गरेर।

मैले भाइहरूलाई लगाइदिए, भाइहरूले मलाई। समाजमा अलिकति चर्चा पनि भयो। नयाँ ट्रेण्डको सुरूआत जस्तै।

तर त्यो पनि अर्को वर्षदेखि जुरे। एउटा जापान उड्यो। ऊ उडेको केही वर्षमै म पनि उडें। अनि हामी तीनै भाइका निधार हरेक वर्षको तिहारमा खाली।

घरमा एउटा छोरी चाहिन्छ भन्ने महसुस मेरो दिदीले संसार छाडेपछि बुझेको हुँ। दिदीको माया कस्तो हुन्छ भन्ने कुरा पनि मैले दिदी गएपछि महसुस गरेको हुँ।

हो ! आफूसँग भएको चिजको कुनै महत्व हुँदैन। तर जुन चिज आफू सँग छैन, त्यसको महत्व जीवनमा सबभन्दा बढी हुन्छ।

दिदी थिई  र घर उज्यालो थियो भन्ने कुरा मैले आजभोलि बुझ्दैछु। बाँच्दासम्म त लड्नै ठिक थियो हामीलाई।
बच्चा थियौं, जन्म दिने आमालाई त नटेर्ने हामी दिदीलाई के टेर्थ्यौं। डराउने भनेको बासँग मात्र हो। त्यही कारण पनि हामी भाइ–बैना कुटाकुट गर्थ्यौं। तर आज सोच्छु, दिदी भैदेको भए!

‘दिदीलाई भगवानले खोसेपछि त्यस्तै माया खोज्न म अरूलाई दिदी बनाउँदिनँ दादा! ’ भनेर भाइहरू ‘धर्मे’ दिदी बनाउनतिर लागेनन्। तर मैले त्यस्तो सोच राखिनँ।

आफ्नो दिदीले जस्तै माया गर्ने हरेक दिदीलाई आफ्नै दिदी ठानें र कैयौं पटक टीका लगाएँ। तर परिस्थिति नमिल्दा उनीहरूले पनि छाडे।

कसैले ठाउँ छाडे, भेट भएन। कसैले गति छाडे , नाता रहेन। अन्तमा मैले देशै छाडें।

आजभोलि तिहारको माहोल सुरू हुँदा मेरै दिदीलाई सम्झन्छु अनि आफैंले आफैंलाई अभागी ठान्छु।

तिहारको समयमा मान्छेले सामाजिक सञ्जालमा पोष्टिने पोष्टहरूले दिदीको एकदम याद दिलाउँछ। दिदीले हामीलाई छाडेर गएको वर्षौं भयो। मलाई उसको अनुहारसम्म याद छैन।

तर दिदीसँगका पल अनि त्यो बेलाको तिहारले यसरी झस्क्याउँछ कि कहिलेकाहीँ एकदम अत्यास लाग्छ अनि सोच्छु ‘मेरो पनि दिदी भैदेको भए!’

दिदी भैदेको भए के हुन्थ्यो ? प्रश्न एउटा मात्र होला तर उत्तर हजारौं छन्।

तिहारकै मौका पारेर परदेशमा बसेका हामी भाइहरू घर देश हिँड्थ्यौ होला। मान्छेलाई हरेक कामको लागि बहाना चाहिन्छ, मलाई दिदीको हातको टीका लगाउने बहाना मिल्थ्यो होला।

मेरा घरमा पनि उहिले जस्तै सिंकामारी आँगनभरी सुक्थे होला, घरभित्र फिनी रोटी र सेल पाक्थे होला।

मूल ढोकानिर रंगोली बन्थ्यो होला, फोटो खिचेर मैले पनि फेसबुकमा पोष्टिन्थें होला।

हप्ता दिन अघि आएर बसेकी दिदीसँग बचपनाका यादगार क्षणहरूका बारेमा गफिँदै हाँस्थें होला। भान्जा–भान्जीलाई खेलाउँथें होला।

परदेशमा छु, घरतिर जाने साइत नजुरे मैले पनि दिदीको फोटो फेसबुकमा पोष्टिँदै लेख्थें होला ‘मेरी दिदी! यो वर्ष मन नदुखाएस, अर्को वर्ष है।’

कैयौं सपना खेल्छन् दिनभर दिमागमा अनि रातभर आँखामा। तर तिहार खल्लो छ मेरा लागि।

दिदीको महत्व मैले मात्र होइन, भाइहरूले पनि उस्तै महसुस गर्छन्।

अस्ति जापान बस्ने भाइसँग गफिँदै गर्दा भन्यो  ‘दादा! नानीको फोटो अलि ठूलो बनाएर भित्तामा टाँस्ने भनेको छु। ’

म निराश हुँदै सोधें ‘सक्छस ?’

ऊ केही बोलेन, साँच्चै म चाहिँ सक्दिनँ।

आँखा चिम्म गर्दा अलि अलि मात्र याद हुने उसको तस्बिरले त मलाई भावुक बनाउँछ, झन् भित्तामा झुण्डेको तस्बिर कसरी हेर्नू मैले ?

मैले नसक्ने कुरा गरेपछि उसले भन्यो  ‘मलाई नानीको फोटो ठूलो बनाएर राख्ने रहर छ दादा।’

मैले सल्लाह दिएँ,  ‘घरमै राखौंला, परदेशमा होइन। हरेक दिन रोएर परदेशमा बस्न सकिन्न, नानीको तस्बिर हेरेर हामी हाँस्न सक्दैनौं।’

मलाई दिदीको महत्वले यसरी गलाउँछ कि म तिहार भन्ने पर्व नै हटोस् जस्तो सोच्छु। तर मेरा दिदी बहिनी छैनन् भन्दैमा त्यस्तो सोच्नु पनि त भएन। जसका दिदी बहिनी छन्, उनी भाग्यमानीहरूका निम्ति त संसारकै खुसी मिल्ने पर्व हो तिहार ।

ऊ बेलाका तिहारमा दिदीसँगको पल सम्झेर रूनुबाहेक अरू कुनै उपाय छैन अब। ती बालापनको तिहारजस्तै सप्तरङ्गी टीका लगाइदिने दिदी सधैंको लागि गैसकी, अब रोएर आउने पनि त होइन।

तर जसको घरमा दिदी बहिनी छन्, उनीहरुले दिदीबहिनीको महत्व बुझ्नुस्।

लडनुस्, झगडा गर्नुस्। खोसेर खानुस् तर भगवानसँग हात जोडेर बिन्ती गर्नुस् ‘प्लिज भगवान! मेरो दिदीलाई मभन्दा धेरै आयु दिनुस्।’

 

setopati.com

ताजा

संबन्धित समाचार

pokhara

पोखरामा विमान दुर्घटना,आन्तरिक तर्फ इतिहासकै ठूलो क्षति

rekha-sharma-and-shankar-pokheral

नेकपा माओवादी केन्द्रकी रेखा शर्माले फराकिलो अग्रता

ghi

डिभाईन टेम्पल एकेडेमीमा मेगा बैंकको बित्तिय साक्षरता कार्यक्रम

sandeep

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश