छोरीको ख्याल गर्दै महिला क्रिकेटमा स्वर्ण सपना बोकेकी सिरहाकी शान्ती

शान्ती चौधरी पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा सहभागी हुन दुध नछुटेकी डेढ वर्षीया छोरीलाई बोकेर आइपुगिन । अरु खेलाडी आफूलाई आवश्यक पर्ने सरसामान मिलाउँदै गर्दा मधेश प्रदेशकी चौधरीले खेलकै बीचमा छोरीको पनि ख्याल गर्नुपर्ने टन्टो थियो ।

बिहीबार सुदूरपश्चिमलाई हराउँदै टिमलाई जिताउन २ महत्वपूर्ण विकेट लिएकी शान्तीले मैदानबाहिर छोरीको सूर्ता भए पनि मैदान प्रवेश गरेपछि भने खेलले आफूलाई फोकस गरेको उनी बताउछिन । साथी तथा दाइहरुले भित्र गएर ढुक्कले खेल छोरी हामी हेरिदिन्छौं भनेपछी म ढुक्क भएर खेल्न पाएको शान्तिको प्रतिक्रिया छ ।

बिज्ञापन

सिरहाकी शान्तिलाई सानोमा क्रिकेट भन्ने नै थाहा थिएन । तर, साथीहरुको लहलहैमा मैदान पुगेर पहिलो पटक क्रिकेट खेल्दा रमाइलो भएपनी आफू के खेलिरहेको छु भन्ने थाहै नभएको उनी बताउछिन । ‘खेल्न जाँदासमेत क्रिकेट खेल्न जाँदैछु भन्ने थाहा नभएपनी पहिलोपटक नै खेलेपछि यसैमा क्रेजी भएँको तर घर (माइत)बाट सुरुमा नजान भनेको भएपनी क्रिकेट खेल्न निरन्तरता दिएँको उनले सम्झिइन् ।’

त्यसरी पहिलोपल्ट क्रिकेट ब्याट समाएको पनि शान्तिको अहिले दशक नाघेको छ । यो दशक अवधिमा थुप्रै आरोहअवरोह पार गरिन् । यसैबीचमा बिहेवारी पनि भयो । छोरी जन्मिइन्, शान्ति अब आमा बनिन् ।

खेलकुदमै लागेर आफ्नो भविष्य बनाउने खेलाडी औंलामा गन्न सकिन्छ । त्यसमाथि महिला खेलाडीको अवस्था झनै कमजोर । सन्तान पाइसकेपछि उनीहरु करिअर नै परिवर्तन गर्छन् । तर, शान्तिले आँट गरिन्, हिम्मत हारिनन् । एक छोरीको आमा हुँदासमेत बच्चा च्यापेरै उनी मैदानमा देखिन्छिन् ।

बिज्ञापन

‘सासूससुरा, श्रीमान, घरपरिवार सबैको राम्रो साथ छ नत्र कहाँ खेल्न पाउँथे र ?’ उनी भन्छिन्, ‘त्यही भएर बिहेपछि झन्डै ५ वर्ष ग्याप राखेर फेरि क्रिकेटमै फर्किएँ । छाड्न सकिनँ ।’

छोरी बोकेर क्रिकेट खेल्न मैदानमा पुगेको यो पहिलो पल्ट भने होइन । छोरी पुगनपुग ६ महिना नहुँदैबाट उनी मैदानमा उत्रन थालिसकेकी थिइन् । बिहेपछि लगभग क्रिकेट छाडिसकेकी थिइन् । तर, मैदानमा फर्कन उनलाई छोरी जन्मिएपछि मात्रै मौका मिल्यो ।

‘बच्चा भइसकेपछि माइत गएकी थिएँ । त्यहाँ म २ महिनाभन्दा बढी बसें । त्यहीबेला हाम्रो टिमको साथी घाइते हुनुभएकाे थियो अनि मलाई भेटेर साथीहरुले राम्रो खेल्छौ, तिमी खेल्यौ भने हाम्रो टिम पनि बलियो हुन्छ भनेर भन्नुभयो’ शान्तिले सुनाइन्, ‘मलाई पनि खेल्न मन लागिराखेको थियो अनि मैदानमा फर्किएँ ।’

बच्चा भइसकेपछि खेल्न गाह्रो हुने शान्तिको अनुभव छ । ‘अलिकति त आफूलाई लाजै लाग्छ । त्यसमाथि मैले सिजरिन गरेर बच्चा पाएको भएर फिटनेस पनि राम्रोे छैन’ भन्छिन्, ‘फिटनेसका लागि जबर्जस्ती त म गर्न सक्दिनँ । तर, सकेसम्म राम्रो गर्छु भनेर खेल्छु ।’

शान्तिले आफूले खेललाई निरन्तरता दिइरहनुको कारण सबै महिलालाई प्रेरणा दिन रहेको पनि खुलाइन् । ‘खेल्दा म यसरी खेलूँ कि भोलिका दिनमा पनि यसको पर्फमेन्स राम्रो थियो भनेर भनुन्’ उनले भनिन् ।

छोरी हुर्किंदै जाँदा आफ्ना लागि पनि प्रशस्त समय मिल्ने र क्रिकेटमा अझै राम्रो प्रदर्शन गर्ने शान्तिको धोको छ । तर, हुटहुटीले छोरी काखमा बोकेरै मैदानमा उत्रिए पनि राज्यबाट पाउनुपर्ने सेवासुविधा, सहयोग नभएको गुनासो उनको छ ।

‘सरकारलाई आवाज मात्रै दिएर के हुन्छ ? खासै उसैले गर्ने होइन र ? अहिले त आशै राख्दैनौं । बोलेर पनि काम लाग्न छोडिसक्यो’ शान्तिले सुनाइन्, ‘नानी बोकेरै भएर पनि खेलिराखेकी छु, अहिलेलाई भोलि पनि यही पाइराखुँ भन्ने छ ।’

 

ताजा

संबन्धित समाचार

pokhara

पोखरामा विमान दुर्घटना,आन्तरिक तर्फ इतिहासकै ठूलो क्षति

rekha-sharma-and-shankar-pokheral

नेकपा माओवादी केन्द्रकी रेखा शर्माले फराकिलो अग्रता

ghi

डिभाईन टेम्पल एकेडेमीमा मेगा बैंकको बित्तिय साक्षरता कार्यक्रम

sandeep

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश