🎧 Radio Namaste



धुमधाम का साथ धार्मिक महत्व बोकेको पर्ब तिज मनाइदै

तीज पर्व भन्नासाथ हामी चेलीमाइती भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको रूपमा बुझ्छौं । यस अवसरमा चेलीहरू माइत आउँछन् । दुग्धजन्य परिकार सेवन गर्छन् । उपवास बस्छन् । रातो, हरियो, पहेंलो रंगको पहिरनमा सजिन्छन् । चुरा, पोते लगाउँछन् । नाचगान गर्छन् । गीतको माध्यमबाट मनको वह पोख्छन् । अहिले तीजको स्वरूप पनि फेरिदै गएको छ ।

चेलीमाइतीबीच सुमधुर सम्बन्ध राख्ने, माइतघर जाने, दुग्धजन्य परिकार खानेभन्दा पनि पार्टी प्यालेसमा भोजभतेर आयोजना गर्ने, अघोषित रूपमा गरगहना, पहिरनमा प्रतिस्पर्धा गर्ने, मासुमाछा र मदिराजन्य तामसी परिकार खाने प्रवृत्ति बढ्दो छ ।

बिज्ञापन

तीज हिन्दु महिला धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्व हो । यो पर्व भाद्रशुक्ल पक्ष तृतीयाका दिनमा पर्दछ । भाद्रशुक्ल तृतीयाका दिनमा हस्त नक्षत्र र सोमवार परेमा तीजको महत्व बढ्छ । यी तीन चीजबाट जन्मिएको हुनाले त्रीज भन्ने संस्कृत शब्दबाट तीज शब्दको प्रयोग भएको देखिन्छ ।

तीजको धार्मिक र ऐतिहासिक पक्षमा विचार गर्दा शिवगौरी संवादसम्म पुग्नुपर्ने हुन्छ । थोरै परिश्रमले ज्यादा फल मिल्ने व्रत उपवासको बारेमा उठेको पार्वतीको जिज्ञासामा शिवजीले हरितालिकाको व्रत विधान बताएका थिए । जसमा माथि भनिए अनुसारका तीनै चीजको संयोग भएको समयमा उपवास गरी उपासना र आराधना गर्नाले सम्पूर्ण किसिमका पापराशिहरुबाट मुक्ति पाउने कुराको उल्लेख पाइन्छ । त्यस्तो समयको व्रतलाई उत्तम कोटिको व्रत मानिन्छ । त्यस्तो संयोग यदाकदा मात्र सम्भव हुन्छ ।

नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक नेपालका के सहर के  गाउँ, जताततै फैलिइसकेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको  दीर्घायु कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै हाम्रो संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ जुन कुरो हाम्रा पर्वहरूमा सहजै दृष्टिगोचर हुन्छन् ।

बिज्ञापन

हिजोआज तीज भडि्कलो हुँदै छ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप तीज केही उत्ताउलो समेत हुन थालेको र यसको मौलिकता पनि हराउन थालेको गुनासो बढ्न थालेको छ ।

तीज यही बेलादेखि सुरु भएको भन्ने ठ्याक्कै मिति निर्धारण त गर्न सकिँदैन तैपनि यो भारत वर्ष विशेष गरी उत्तर भारत एवं नेपालमा पौराणिक कालदेखि नै चलिआएको बुझ्न सकिन्छ ।

विशेष गरी तीज भारतभन्दा पनि नेपालमै बढी चलेको पर्व हो । नेपाली समाजमा यो पर्वको मौलिक स्वरूप विकास भएको हुनाले तीज विशुद्ध नेपाली पर्व हो र यो नेपालका महिलाहरूले मात्र मनाउँछन् भन्न सकिन्छ । नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ जुन विभिन्न रूपले यो पर्वमार्फत प्रकट हुन्छ ।

धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । पार्वतीले महादेवलाई श्रीमानका रूपमा पाउन १ सय ७ जन्मसम्म घोर तपस्या गरे पनि १ सय ८ औं जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा केही शास्त्रहरूमा बताइएको छ । यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले आˆना श्रीमानको दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने नेपाली चलन छ ।

 

source:onlinekhabar.com

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर