अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्रिकेटको छोटो फर्म्याट टी-२० विश्वकपमा टिम संख्या बढाउने तयारी गरेको छ ।
आइसीसीले टी-२० मा प्रतिस्पर्धा गर्ने टिमसंख्या १६ बाट बढाएर २० पुर्याउने तयारी गरेको इएसपी एनक्रिकइन्फोले जनाएको छ । क्रिकइन्फोका अनुसार क्रिकेटलाई विश्वभर फैलाउने लक्ष्यका साथ टी-२० विश्वकपमा सहभागी टिमको संख्या बढाउन आईसीसी सकारात्मक भएको हो ।
यसै वर्ष भारतमा तय भएको टी-१० विश्वकपमा १६ राष्ट्रले खेल्ने तय छ । यस्तै अर्को वर्ष अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा पनि १६ राष्ट्रले नै प्रतिस्पर्धा गर्नेछन् ।
त्यसपछिको संस्करण सन् २०२४ मा हुने टी२० विश्वकपमा भने टीम बढाउने बारे आईसीसीले छलफल गरेको क्रिकइन्फोले जनाएको छ । टीम संख्या बढाएर २० बनाएपछि टिमहरुलाई ४ समूहमा ५-५ टिम राखेर विभाजन गरिने छ ।
यसबारे आधिकारिक निर्णय भने भइसकेको छैन । तर विश्वकपमा सहभागी टीम बढेमा नेपाल लगायत एसोसिएट राष्ट्रहरुलाई फाइदा हुनेछ ।
यसअघि नै आईसीसीले महिलातर्फको प्रतियोगितामा टिमको संख्या बढाउने निर्णय गरिसकेको छ ।
यसैगरी वान डे विश्वकपमा पनि टिम संख्या बढाइने सम्भावना छ । पछिल्लो पटक वान डे विश्वकपमा १० राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । २०२३ मा भारतमा हुने वान डे विश्वापमा पनि १० टिमले नै प्रतिस्पर्धा गर्नेछन् । टिम संख्या बढेमा १४ हुनेछ ।
यसैगरी यसअघि भएको इन्टरकन्टिनेन्टल कपलाई नयाँ नाममा फेरि सुरुवात गर्ने तयारीमा आईसीसी रहेको क्रिकइन्फोले जनाएको छ । यस्तै ओलम्पिकमा पनि क्रिकेटलाई सहभागी गराउने विषयमा छलफल भइरहेको छ ।