एनएसएल फाइनल आज

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) ले आज आफ्नो पहिलो च्याम्पियन पाउँदैछ । त्यसका लागि धनगढी एफसी र काठमाडौं रेजर्स एफसी बिच आज फाइनल खेल हुँदैछ ।

प्रतियोगितामा ७ टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए । २१ दिन र २४ खेलपछि फाइनल पुग्ने दुई टोली धनगढी र काठमाडौं उपाधिका लागि तयार छन् ।

बिज्ञापन

फाइनल अघि नै यी दुई टोली एकआपसमा दुई पटक खेलिसकेमा छन् र दुवैमा धनगढी विजयी भएको थियो । लिग चरणमा धनगढीले काठमाडौंलाई ३-० ले पराजित गरेको थियो । यस्तै पहिलो क्वालिफायरमा धनगढीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै काठमाडौंलाई २-१ ले हराएर फाइनलमा स्थान बनायो ।

काठमाडौंले भने फेरि अवसर पायो र दोस्रो क्वालिफायरमा ललितपुर सिटीलाई ३-० ले पराजित गर्दै पुन: धनगढीसंग उपाधि भेट पक्का गरेको हो ।

धनगढीसंग बेहोरेको दुई हारको बदला फाइनलमा लिने योजनामा काठमाडौं छ । उता धनगढी पनि यसअघिको लय कायम राख्दै उपाधि जित्ने लक्ष्यमा छ ।

बिज्ञापन

नेपाल नम्बर वान गोलकिपर तथा कप्तान किरण चेम्जोङको कप्तानीमा धनगढी खेल्दैछ । उता नेपालको नम्बर दुई गोलकिपर विकेश कुथुको कप्तानीमा काठमाडौं खेल्दैछ ।

फाइनलअघि शुक्रबार भएको प्रि-क्याच कन्फ्रेन्समा दुवै टिमका कप्तान र प्रशिक्षकले फाइनलमा लागि तयार रहको र उपाधि जित्ने दावी गरे ।

काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले फाइनलमा हारको बदला लिँदै उपाधि काठमाडौंमै राख्ने बताए । ‘लिग चरण र प्लेअफमा धनगढीसंग पराजित भएको थियौँ । त्यो खेलमा भएको कमीकमजोरीलाई सुधार गर्दै उपाधि घरमै राख्ने योजना साथ खेल्छौं,’ प्रशिक्षक महर्जनले भने ।

उनले अघिल्ला दुई खेलमा बेहोरेको हारको बदला तेस्रो भेटमा लिने सुनौलो अवसर रहेको बताए । ‘तेस्रो खेलमा प्रमणित गर्ने सुनौलो अवसर रहेको छ । घरमा जितेर उपाधि राख्न भरपुर मेहनत गर्नेछौं,’ प्रशिक्षक महर्जनले भने ।

यस्तै कप्तान तथा मार्की प्लेअर विकेश कुथुले दुई हारबाट पाठ सिकेको र फाइनलमा जित्ने तरिकाले खेल्ने बताए । ‘लिगमा उतारचढाब भयो । यस्तै पाठबाट सिकेर फाइनलसम्म पुगेका छौं । उपाधि जित्ने हिसावले खेल्छौं,’ फ्रेन्चाइज फुटबल मार्फत पहिलो पटक कप्तानी गरिरहेका कुथुले भने ।

अर्कोतिर धनगढी लगातार तेस्रो पटक काठमाडौंलाई पराजित गर्दै ट्रफी सुदूरपश्चिम लैजाने लक्ष्यमा रहेको छ । धनगढीका प्रशिक्षक फुजा तोपेले काठमाडौंलाई दुई पटक हराएपनि फाइनल सहज नहुने बताए । ‘हामीले दुई पटक काठमाडौंलाई पराजित गरिसकेका छौं । प्रतिद्वन्द्वीलाई सम्मान गर्दै उपाधिका लागि खेल्छौं,’ नाइजेरियन प्रशिक्षक तोपेले भने । धनगढीका मुख्य प्रशिक्षक युगल किशोर राई रहेपनि तोपेले नै रणनीति बनाउने काम गर्दै आएका छन् ।

यस्तै टोलीका आइकोनिक तथा कप्तान किरण कुमार लिम्बुले फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने बताए । किरणले उपाधिकै लागि खेल्ने बताए । ‘यो हाम्रो तेस्रो भेट हो । यहाँसम्म आउँदा कहिल्यै सहज भएन । फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुन्छ । काठमाडौंलाई सम्मान गर्छौं । विश्वास छ उपाधि जित्नको लागि खेल्छौं, राष्ट्रिय टिमको कप्तानी डेब्युमै चैतमा नेपाललाई थ्री नेशन्स कपको उपाधि जिताएका किरणले भने ।

लिगमा काठमाडौं सर्वाधिक ४ खेल जित्दै १३ अंक जोडेर पहिलो हुँदा १० अंक जोडेको धनगढी दोस्रो भएको थियो । तर अहिलेसम्मको दुई भेटमा धनगढी नै अब्बल देखिएको छ । अब फाइनलमा दुई हारको बदला लिने अवसर काठमाडौंलाई छ ।

उद्घाटन खेलमै ललितपुर सिटीलाई १-० ले पराजित गरेको काठमाडौं दोस्रो खेलमा धनगढीसंग ३-० ले पराजित भएको थयो । धनगढी भने पहिलो खेलमा विराटनगर सिटी एफसीसंग ३-० ले पराजित भएको थियो तर दोस्रो खेलमै पुनरागमन गर्न सफल भएको थियो ।

काठमाडौं र धनगढबीचको खेल बालगोपाल भर्सेस फुजा तथा विकेश भर्सेस किरणबीचको खेल समेत मान्न सकिनेछ ।

यस्तै दुवै टिममा विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । काठमाडौंका क्यामरुनी खेलाडी मेसोउके ओलोमोउलेले लिगमा सर्वाधिक ७ गोल गरिसकेका छन् । उनी ह्याट्रिक गर्ने एक मात्र खेलाडी समेत हुन् । यस्तै क्यामरुनै स्टेफेन विनोङ समिरले ३ गोल गरेका छन् । यी दुई खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । साथै डिफेन्समा आइभरीकोष्टका फ्लोरेन्ट कोराले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

उता धनगढीको मुख्य हतिकार नाइजेरियन खेलाडी ओलावाले आफिस रहेका छन् । उनी ४ गोलसहित सर्वाधिक गोल गर्नेमा संयुक्त रुपमा दोस्रो स्थानमा छन् । चोटका कारण पछिल्लो खेलमा उनले सोचे अनुसार खेल्न सकेका थिएनन् । प्लेअफ पनि उनी काठमाडदं विरुद्ध घाइते हुँदा हुँदै पनि खेलेका थिए । तर विपक्षी डिफेण्डरलाई व्यस्त राख्न उनले जबरजस्ती खेलेका थिए र पछि सब्सिच्युट भएका थिए ।

यस्तै डिफेण्डर फ्रांकलन क्वेटाले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । विदेशी लिग खेलेकोले कप्तान किरण पनि विदेशी कोटा अन्तर्गत नै रहेका छन् ।

धनगढी र काठमाडौं जसले जितेपनि नेपाली फुटबलमाम यो इतिहास बन्नेछ । पहिलो पटक आयोजना भएको फ्रेन्चाइज फुटबलमा अक्सनबाट खेलाडी छनोट गरिएको थियो ।

एनएसएलको विजेताले नगद ३५ लाख र उपविजेताले नगद १५ लाख प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीले १-१ लाख पाउनेछन् ।

ताजा
एनपीएलको उत्कृष्ट खेलाडीले गाडी पुरस्कार पाउने
रिलायबल लमही शाखाद्वारा ७ अौ बार्षिक उत्सव सम्पन्न
बिद्यार्थी पुस्ताकाे आकर्षण

संबन्धित समाचार

एनपीएलको उत्कृष्ट खेलाडीले गाडी पुरस्कार पाउने

रिलायबल लमही शाखाद्वारा ७ अौ बार्षिक उत्सव सम्पन्न

बिद्यार्थी पुस्ताकाे आकर्षण

“त्रिविले गौरवशाली इतिहासलाई निरन्तरता दिन आवस्यक छ”