मिडियामा खोज पत्रकारिताको अभाव :अध्यक्ष दुर्गालाल केसी

दाङका १० जना सञ्चारकर्मीहरु कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट एक जना पत्रकारको ज्यान गइसकेको छ भने अर्का एकजना आइसीयूमा उपचार गराइरहेका छन् । कोरोना महामारीका बेला पनि पत्रकारहरु फ्रन्टलाइनमा रहेर आफ्नो नियमित कामा गरिरहेका छ । यस्तो अवस्थामा सञ्चारकर्मीहरुको सुरक्षाका लागि राज्यको दायित्व के हुन सक्छ ? भनेर पत्रकार सम्पादक पाण्डव शर्माले पत्रकार महासंघ, दाङ शाखा अध्यक्ष दुर्गालाल केसीलाई प्रश्न गरेका छन् । महामारीमा पत्रकारहरुको सुरक्षाका लागि महासंघल गरेको पहल, पत्रकारहरुका समस्या, पत्रकारिताका चुनौति लगायतका विषयमा केन्द्रित रहेर केसीसँग गरिएको कुराकानिको सार:

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले आम जनतालाई प्रभावित बनाएको छ । महामारीको बेलामा फ्रन्टलाइनमा रहेर खट्ने सञ्चारकर्मीहरु पनि महामारीबाट निकै प्रभावित भएका छन् । दाङमा नेपाल पत्रकार महासंघले महामारीको बेला पत्रकारहरुको सुरक्षाका लागि संस्थागतरुपमा के पहल थालेको छ ?

बिज्ञापन

कोरोना महामारीले पत्रकारहरुलाई धेरै असर गरेको छ । लडकडाउनको समयमा पनि पत्रकार साथिहरु घरभित्र बसिरहन पाउनुभएको छैन । रिपोर्टिङका लागि ठाउँठाउँमा जानुपर्ने बाध्यता छ । फिल्डमै गएर भिडियो र फोटो खिच्नुपर्ने हुन्छ । फिल्डमा खट्दा खट्दै सञ्चारकर्मीहरु संक्रमित हुनुपरेको छ । दाङमा हालसम्म १० जना पत्रकार साथिहरु कोरोना संक्रमित हुनुभएको छ । त्यसमध्ये एक जना साथि साह्रै गम्भिर पनि हुनुहुन्छ । एक जना पत्रकार साथिको कोरोना संक्रमणबाट ज्यान गएको छ । पत्रकार साथिहरु संक्रमित हुँदा उपचारका लागि बेड पाउन गाह्रो भएको छ । कपिय डेरामा बस्ने साथिहरुलाई संक्रमित भएका कारण घरमा बस्न समस्या भएको छ । हामीले त्यस्ता सञ्चारकर्मीहरुलाई अप्ठेरो नहोस् भनेर पत्रकार महासंघकै भवनमा आइसालियसन तयार पारेका छौं ।

यो आइसोलियसनमा डेरा बस्ने साथिहरु जो संक्रमित भएकै कारण त्यहाँ बस्न असहज हुन्छ उहाँहरुलाई व्यवस्थापन गर्छौं । तत्काल अस्पतालमा वेड नपाउने र अक्सिजन आवश्यक पर्ने साथिहरुलाई यहाँ राखिन्छ । अक्सिजनसम्म चलाउ सक्ने अवस्थामा हामीले यहाँ राख्छौं । अलि गम्भिर भएको खण्डमा हामीले अस्पताल पु¥याउँछौं । त्यसैगरी हामीले संक्रमित भएका साथिहरुलाई अहिले दिनदिनै फलोअप गरिरहेको छौं । मैले आँफै पनि ती साथिहरुलाई टेलिफोन गरेर स्वास्थ्य अवस्थाको बारेमा बुझ्ने काम गरिरहेको छु । एक जन गम्भिर हुनुभएको साथिलाई भैरहवा मेडिकल कलेजमा पठाएका छौं । अरु साथिहरु होम आइसोलियसनमा स्वास्थ्य लाभ गरिरहनुभएको छ । धेरै साथिका परिवारहरु पनि संक्रमित हुनुभएको छ । पत्रकार साथि बाहिर रिर्पोटिङमा हिड्दा संक्रमित हुने र परिवारमा संक्रमण सर्ने समस्या देखिएको छ । अहिले ६ बेडेको आइसोलियसन छ । आवश्यकता अनुसार हामीले यसलाई थप गर्दै जाने छौं ।

पत्रकारहरुलाई संक्रमित भइसकेपछि कसरी उपचार गर्ने भनेर पनि हामीले छलफल चलाएका छौं । हामीसँग आर्थिक स्रोत केही पनि छैन । हामीले विभिन्न क्षेत्रमा सहयोगका लागि आग्रह गरेका छौं । पत्रकार कोरोना सहायता कोष भनेर सञ्चालन गरेका छौं । विभिन्न क्षेत्रमा सहयोगका लागि आवह्वान गरेका छौं । केही साथिहरुले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । आइसोलियसन सञ्चालनका लागि आवश्यक पर्ने अक्सिन, स्वास्थ्य सामाग्री, स्वास्थ्यकर्मी र खाने व्यवस्थाका लागि पनि विभिन्न क्षेत्रबाट सहयोगका आश्वासन प्राप्त भएको छ । हामीले एक÷दुई दिन भित्रै आइसोलियसनलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी गरेका छौं ।

बिज्ञापन

आइसोलियसनमा उपचारको कस्तो प्रवन्ध रहेको छ ?
हामीले सबै उपचार यहाँ नै गर्न सक्ने अवस्था नहुन सक्छ । हामीले मध्यमखालका बिरामी उहाँहरुलाई आइसोलियसनमा बसाल्न सक्छौं । अक्सिजन दिएर उपचार गर्न सकिने अवस्था सम्मको लागि हामीले यहाँ राख्छौं । डाक्टर, नर्श र अन्य स्वास्थ्यकर्मीहरु यहाँ उपलब्ध हुनुहुन्छ । संक्रमित सञ्चारकर्मीहरुलाई आइसीयू नै चाहिने अवस्था आयो भने अन्यत्र रिफर गर्छौं । सामान्य अवस्थामा हामीले यहाँ नै उपचार गर्छौं । अहिले बिरामी भए लगत्तै तुरुन्त अस्पतालमा बेड पाउन सक्ने अवस्था छैन । घरमै बस्दा अक्सिजनको अभावका ज्यान जाने र अस्पतालमा बेड नपाउने अवस्थामा हामीले पत्रकार महासंघको आइसोलियसन वार्डमा राखेर उपचार गर्छौं । गम्भिर हुनुभएका साथिहरुलाई कोरोना अस्पतालसँग समन्वय गरेर सजिलै साथिहरुलाई अस्पताल पु¥याउने व्यवस्था गर्छौं ।

कोरोना महामारीको जोखिमका बीच पनि सञ्चारकर्मीहरुले फ्रन्टलाइनमा रहेर काम गरिरहेका छन् । यस्तो अवस्थामा सञ्चारकर्मीहरुको सुरक्षाका लागि राज्यको दायित्व के हुन सक्छ ?
राज्यले यति बेला सञ्चारकर्मीहरुको स्वास्थ्य कसरी सुरक्षित राख्ने श्र पत्रकारहरुको खानपिनको व्यवस्था कस्तो छ ? यी विषयमा सोच्नुपर्ने हो । अहिले धेरै सञ्चारमाध्यमहरु बन्द भएका छन् । सञ्चारकर्मीहरुले रोजगारी गुमाउनुपरेको छ । यस्तो अवस्थामा सञ्चारकर्मीहरुलाई कसरी सुरक्षित ढंगले काम गर्ने वातावारण तयार गर्ने भन्ने विषयमा कतेबाट केही चासो भएको देखिदैन । सञ्चार क्षेत्र फ्रन्टलाइनमा रहेर खटि रहेको छ । उहाँहरुको सुरक्षाका लागि राज्यले ध्यान दिनुपर्दथ्यो । राज्यको तर्फबाट यी कुरामा ध्यान पुगेन कि भन्ने हामीले ठानेका छौं ।

नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष भइसकेपछि तपाईले आफ्ना कार्ययोजनाहरु पनि प्रस्तुत गर्नुभएको छ । तपाईका प्राथमिकताहरु के हुन् ?
हामीले पत्रकारहरुको क्षमता विकासका लागि धेरै कामहरु गर्ने योजना छ । पहिलो वर्षमा पत्रका क्षमता विकासका लागि तालिम वर्षको रुपमा विकास गर्ने योजना छ । विभिन्न विटको तालिम दिएर पत्रकार साथिहरुलाई खोजमुल समाचार लेखनमा प्रोत्साहन गर्ने हाम्रो योजना रहेको छ । गुणस्तरीय पत्रकारिता नै हाम्रो प्राथमिकता हो । अहिले कोरोना महामारीले हामीलाई केही डिष्ट्रब गरेको छ । महामारी कम भए लगत्तै हामी तालिमका कार्यक्रमहरु सञ्चालन गर्छौं ।

हामीले पत्रकार साथिहरुलाई लेखवृत्तिमा लगाउने सोँचेका छौं । फेलोशिप प्रदान गरेर साथिहरुलाई खोजमुलक रिर्पोटिङका लागि प्रोत्साहन गर्छौं । रिर्पोटिङका लागि सहज होस् भनेर हामीले फेलोशिप प्रदान गर्छौं । उहाँहरुले लेखेका खोजमुलक समाचारहरु पत्रकार महासंघले नै बुलेटिन प्रकाशन गरेर फिचर सेवा प्रदान गर्ने योजना बनाएका छौं । फिचर सेवाका सामग्रीहरु विभिन्न सञ्चारमाध्यमहरुले उपयोग गर्न मिल्ने गरी व्यवस्था गर्ने योजना बनाएका छौं । पत्रकार महासंघ आँफैले एउटा अनलाइन चलाउने सोँच बनाएका छौं । त्यसमा पत्रकार महासंघका गतिविधिका साथै पत्रकारहरुका प्रोफाइलहरु राखिने छ । पत्रकारहरुको समग्र गतिविधि त्यहाँबाट थाहा पाउन सकिने र सञ्चार सम्बन्धी नयाँनयाँ गतिविधि त्यहाँ राख्ने सोँच बनाएका छौं ।

पत्रकारहरुलाई राहत होस् भनेर हामीले एउटा कोष स्थापना गर्ने योजना बनाएका छौं । जोखिममा रहेका अथवा अप्ठेरोमा परेका पत्रकारहरुका लागि तत्काल त्यहीँ कोषबाट राहत प्रदान गरिने छ । त्यसैगरी जीवनभर पत्रकारिता गरेर बृद्ध अवस्थामा पुग्नुभएका जेष्ठ पत्रकारहरुका लागि निर्वाह भत्ता पत्रकार महासंघको तर्फबाट गर्ने भनेका छौं । त्यसका लागि कोष बनाउने तयारी गरेका छौं । त्यसैगरी महिला पत्रकारहरुलाई कसरी पत्रकारितामा टिकाउने भन्ने कुरा छ । पत्रकार महिलाहरुको क्षमता विकास गर्ने र उहाँहरुको सुरक्षाका लागि हामीले पहल गर्ने छौं । मिडिया हाउसहरुको सुरक्षा कसरी गर्न सकिन्छ भन्ने कुरा पनि छ । सञ्चार माध्यमहरुले सञ्चारकर्मीहरुलाई राम्रो सुविधा दिनकमा लागि सञ्चारमाध्यम आँफै बलियो हुनुपर्छ भन्ने हामीलाई थाहा छ ।

सञ्चार माध्यममा विज्ञापन कसरी बढाउन सकिन्छ भन्ने विषयमा हामीले गम्भिर भएर सोच्नुपर्छ । हामीले विज्ञापनका स्रोतहरु कसरी स्थानीयस्तरमै प्रयोग गर्न सक्छौं भनेर योजना बनाउन जरुरी छ । हामी स्थानीय सरकार, स्थानीय उद्योगी व्यवसायीहरुसँग यो विषयमा गम्भिर भएर छलफल गर्ने छौं । सम्पूर्ण स्थानीय विज्ञापन स्थानीय मिडियालाई नै दिनुपर्छ भनेर हामीले महासंघको तर्फबाट लबिङ गर्ने छौं । हामीले पत्रकारितालाई मर्यादित कसरी बनाउन सकिन्छ भनेर पनि सोँचेका छौं । पत्रकारितालाई कसरी विश्वसनीय बनाउने ? हाम्रा पाठक, स्रोत तथा दर्शकले हामीलाई विश्वास गर्ने वातावरण कसरी तयार गर्ने ? आचारसंहिताको कार्यान्वयन कसरी गर्ने ? हाम्रा मूल्य, मान्यताहरु के हुन् ? भन्ने विषयमा कक्षाहरु सञ्चालन गरेर पत्रकारितालाई मर्यादित बनाउने हाम्रो योजना रहेको छ । सँगसँगै अहिले समाजमा पत्रकारिता प्रति जुन खालको टिकाटिप्णी भइरहेको छ ।

यसलाई संवोधन गर्नका लागि पत्रकार र नागरिकबीच अन्तरसंवाद गराउने योजना रहेको छ । पत्रकारलाई समाजप्रति उत्तरदायी बनाउने र समाज पनि पत्रकारलाई सहि ढंगले बुझ्ने बनाउने हाम्रो योजना रहेको छ । पछिल्लो समय अनलाइन मिडियाप्रति समाजको धेरै गुनासो छ । हामीले अनलाइन पत्रकारितालाई व्यवस्थित र विश्वसनीय बनाउनका लागि पहल गर्ने छौं । पत्रकारिता नगर्ने साथिहरु पत्रकार महासंघको सदस्य हुनुभएको छ । यसले गर्दा पत्रकारिता बदनाम भएको छ । हामी त्यस्ता साथिहरुलाई बोलाएर पत्रकार महासंघको सदस्यता त्याग गर्न आग्रह गर्नेछौं । पत्रकारिता गर्ने साथिहरु सदस्यताबाट बच्ति नहुनुपर्ने र पत्रकारिता गर्ने साथिहरुले सदस्यता त्याग गर्ने वातावरण तयार गर्छौं । हामीले यसको विस्तृत कार्यायोजना बनाइरहेका छौं । हामीले अबको तीन वर्षलाई उपलब्धिमुलक बनाउने छौं ।

पत्रकारिता क्षेत्रको अहिलेको चुनौति के देख्नुहुन्छ तपाई ?
हामी पत्रकारहरुलाई पेशामा टिकिरहनका लागि मुख्य चुनौति रहेको छ । मिडिया हाउस बलियो हुन नसक्नु मुख्य समस्या हो । मिडिया हाउस सञ्चालन गरिएको छ तर, मिडियालाई कसरी दीगो बनाउने भन्ने हामीसँग केही पनि योजना छैन । व्यवस्थापकीय योजना विहिन भएका छन् हाम्रा सञ्चार माध्यमहरु । पत्रकारको भरमा सञ्चार माध्यम छोडिएको छ । पत्रकारले समाचार संकलन गर्ने हो । मिडियाको व्यवस्थापन गर्ने काम पत्रकारको होइन । पत्रकार आँफैले समाचार लेख्ने र विज्ञापन खोज्ने काम गर्न सक्दैनन् । मिडिया सञ्चालकहरुले व्यवस्थापकीय योजना स्पष्ट बनाउन जरुरी छ । अर्को कुरा हाम्रा सञ्चारकर्मी साथिहरु जो काम गरिरहनुभएको छ । उहाँहरुलाई आँफू त्यहाँ सुरक्षित छु भन्ने अनुभूति भएको छैन । मिडिया हाउसको दीगो पनको समस्या छ । हामीले पत्रकारिता दीगोरुपमा गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौति पनि छ । साथै पत्रकारहरुले काम अनुसारको पारिश्रमिक पाउन नसकेको अवस्था छ ।

यी समस्याले गर्दा पत्रकारितालाई व्यवस्थित बनाउन गाह्रो छ । अर्को पत्रकारिताप्रति जनताको विश्वास कसरी जगाउने भन्ने पनि छ । हाम्रो काम पनि जनताका धेरै गुनासो छ । हाम्रा वारेमा सार्वजनिकरुपमा टिकाटिप्पणी हुन्छन् । यो हाम्रो पेशाप्रतिको चुनौति हो । हामीले हाम्रो पेशाप्रति प्रश्न नउठ्ने गरी काम गर्नुपर्छ । हामीले जनताको चाहना अनुसार समाचार सामाग्री दिन नसक्नु पनि अर्को चुनौति हो । हाम्रा पाठक स्रोताको चाहना धेरै बढेको छ । सामाजिक सञ्जालमा जे आउँछन् हाम्रा सञ्चार माध्यममा त्यहीँ कुरा आइरहेका छन् । कमसेकम हाम्रा सञ्चार माध्यमहरुले कुनै पनि विषयबस्तुको गहिराईसम्म पुगेर सामाग्रीहरु दिन सक्नुपर्छ । मिडियामा खोज पत्रकारिताको अभाव छ । त्यसैगरी पत्रकारहरुको भौतिक सुरक्षाको कुरा पनि चुनौतिको रुपमा देखिएको छ । हाम्रो पेशामा कसरी टिकिरहने भन्ने पनि चुनौतिको रुपमा रहेको छ ।

र, अन्त्यमा आम दङ्गाली सञ्चारकर्मीहरुलाई के भन्न चाहनुहुन्छ ?
म सम्पूर्ण सञ्चारकर्मी साथिहरुलाई मर्यादित र जिम्मेवार पत्रकारिता गर्न आग्रह गर्दछु । हामीले हाम्रो कामबाट नै आम जनताको मन जित्ने हो । हामीलाई समाजले ऐना जसरी हेरिरहेको छ । हाम्रा सामाग्रीहरुले हाम्रो समाजलाई कत लैजाने भनेर दिशा निर्देशन गर्न सक्छ । म सम्पूर्ण सञ्चारकर्मीहरुलाई एकताबद्ध भएर आफ्नो पेशाप्रति प्रतिबद्ध हुँदै काम गर्न आग्रह गर्दछु । साथै पत्रकार महासंघलाई आवश्यक सल्ला सुझावको अपेक्षा गर्दछु ।

SOURCE:MECHIKALIONLINE.COM

ताजा

संबन्धित समाचार

कालिका टोलको सरसफाई कार्यक्रम

ग्लोबल बैंकलाई कर्पोरेट कप सुपर सिक्सको उपाधि

देउखुरी बैकर्सको आयोजनामा कर्पोरेट कप सुपर सिक्स क्रीकेट टुर्नामेन्ट शुरु

देउखुरी बैन्कर्सद्वारा गढवामा शैक्षिक सामाग्री बितरण