अक्सिजन सिलन्डरको विकल्प के एलपीजीको सिलिन्डर हुन सक्छ ?

 कोभिड १९ महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिएको छ । संक्रमित बिरामीको चाप बढेसँगै अस्पतालहरूमा उपचाररत बिरामीलाई अक्सिजन सपोर्ट अनिवार्य जस्तै भएको छ ।

अस्पताल भर्ना भएका प्राय बिरामीलाई अक्सिजन सपोर्ट आवश्यक भएपछि अक्सिजनको अभाव  चुलिएको छ । पर्याप्त मात्रामा अक्सिजन उत्पादन भए पनि अक्सिजन भर्ने सिलिन्डर भने अभाव भएको छ । सिलिन्डर अभावमा अक्सिजन  वितरणमा समस्या व्यहोर्नुपरेको अक्सिजन उत्पादकहरूको भनाइ छ ।

बिज्ञापन

महामारीले जसरी उच्च रूपमा फैलँदै गएको छ यही अवस्था कायम रहे अहिले उपलब्ध अक्सिजन सिलिन्डरले कुनै हालतमा थेग्न नसक्ने उत्पादकहरूको भनाइ छ ।

सरकारले २० हजार अक्सिजन सिलिन्डर खरिद प्रक्रिया थालेको बताएको छ । छिमेकी मुलुक चीनले २० हजार सिलिन्डर अनुदानमा दिने भनेपछि आज मात्रै चार हजार सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान त्यसतर्फ जाँदै छ ।

तर सरकारले खरिद गर्ने भनेको र सबै अनुदनाका सिलिन्डर कहिले नेपाल आइपुग्ने कुनै टुंगो छैन ।

बिज्ञापन

अक्सिजन अभावमा बिरामीको मृत्यु भएकै घटना बाहिरिएपछि यतिबेला बहस चलेको छ, ‘खाना पकाउने रित्तो सिलिन्डरमा अक्सिजन भर्न मिल्छ ?’

ठूलो संख्यामा सिलिन्डर उपलब्ध हुने, देशव्यापी वितरण सञ्जाल भएको र आपूर्तिका लागि सहज भएका कारण मानिसहरूले जिज्ञासा राखिरहेका छन् । मिल्छ भने खाना पकाउने रित्तो सिलिन्डरबाट अक्सिजनको अभाव पूर्ति गरौँ ।

के एलपीजीको सिलिन्डरमा अक्सिजन भर्न मिल्छ ?

यो आम जिज्ञासाको समाधानका लागि हामीले अक्सिजन क्षेत्रमा झण्डै चार दशक बढी काम गरेका इन्जिनियर सुरेन्द्रभक्त माथेमालाई हामीले यही प्रश्न सोध्यौं, ‘के अक्सिजन अभावको पूर्ति ग्यासको खाली सिलिन्डरमा भरेर सम्भव छ ?’

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सैनिक अस्पताल छाउनीसहितका कयौं अस्पतालको अक्सिजन प्लान्ट निर्माणको काम गरेका माथेमा अहिले बि एण्ड बी अस्पतालको टेक्निकल कन्सल्ट्याण्टको रूपमा कार्यरत छन्।

हाम्रो प्रश्नपछि माथेमाले अक्सिजन सिलिन्डर र ग्यासको सिलिन्डरको भिन्नता बुझाए । जसअनुसार अक्जिनको हाल प्रयोजनमा रहेको जम्बो सिलिन्डर (आइएसओ ९८०९-१) ४८.८ किलोको हुन्छ । र यसको आयतन ४७ लिटर हुन्छ । यो सिलिन्डरमा हामीले पानी भर्ने हो भने ४७ लिटर अट्छ ।

सिमलेस फलामको ५.३ एमएम थिकनेसमा अक्सिजनको सिलिन्डर बनेको हुन्छ । यसमा राख्नसक्ने अक्सिजन १५० बार हुन्छ । त्यो भनेको सात हजार ५० लिटर अक्सिजन अट्नसक्ने भनिएको हो । यदी ६ लिटर प्रतिमिनेट अक्सिजन चाहिने बिरामीलाई यो सिलिन्डरको अक्सिजनले २० घण्टा धान्ने उनी बताउँछन् ।

यदी प्रतिमिनेट दुई लिटर अक्सिजन चाहिन्छ भने ४९ घण्टा उक्त सिलिन्डरले धान्छ । हाल कोभिडको निकै जटिल अवस्थाका बिरामीलाई हाइफ्लो अक्सिजन (सिप्याप) मार्फत उपचार गराउँदा प्रतिमिनेट ६ लिटर अक्सिजन खपत हुने माथेमाको भनाइ छ ।

निकै ढिलागरी अस्पताल पुगेका बिरामीलाई ५० लिटर प्रतिमिनेट अक्सिजन चलाउनुपर्छ र त्यस्तो अवस्थामा ठूलो सिलिन्डरले साढे दुई घण्टा मात्रै धान्छ । यस्तो अवस्थामा एउटै विरामीलाई दिनभरी दिन १० वटा सिलिन्डर समेत चाहिने हुनसक्ने उनको भनाइ छ । यसैको आधारमा अक्सिजनको सिलिन्डर डिजाइन गरिएको हुने माथेमा बताउँछन् ।

अक्सिजनको तुलनामा खाना पकाउने ग्यासको सिलिन्डर कमजोर र निकै सानो हुने उनको भनाइ छ । तथापि एलपी ग्यासको सिलिन्डरका ग्यास भर्नै नमिल्ने भने नहुने उनले बताए ।

नेपालमा पाइने आन्तरिक खपतको सिलिन्डरमा १४.२ किलो ग्यास अट्ने  र त्यसलाई खाली गरेर पानी हाल्ने हो भने एक सिलिन्डरमा ३३.३ लिटर पानी अट्ने उनी बताउँछन् । खाली सिलिन्डर १५.३ र ग्यास १४.२ किलोको हुने उनले बताए । एलपीजी सिलिन्डरको डिजाइन प्रेसर १६.९ मात्रै रहेको उनको भनाइ छ । जुन अक्सजिन सिलिन्डरको तुलनामा निकै कम हो ।

यदी १६ भन्दा बढी प्रेसर सिलिन्डरलाई दिइयो भने पडि्कने उनको भनाइ छ । तर सोही सिलिन्डरमा ६.५ केजी पर सेन्टीमिटर स्वाक्यार (बार) मा अक्सिजन भर्न भने सकिने माथेमा बताउँछन् । उक्त मात्रामा अक्सजिन भर्दा एउटा सिलिन्डरमा जम्मा २१७ लिटर मात्रै अक्सिजन भर्न सकिने उनले बताए । जुन हालको अक्सिजन सिलिन्डरको तुलनामा निकै कम र दुःखको काम मात्रै हुने उनी बताउँछन् ।

यसबाहेक सिलिन्डरमा अक्सिजन भर्ने प्रणाली र त्यसलाई अस्पतालको प्रयोगमा पठाउने भल्ब लगायतका अन्य प्रणाली पनि मेल नखाने भएकाले अक्सिजन भर्न सकिए पनि प्रभावकारी भने नहुने उनको सुझाव छ ।

नेपाल ग्यासले गरेको थियो प्रयास

बजारमा अक्सिजन सिलिन्डरको अभाव भएका समाचारहरू सार्वजनिक भएपछि नेपालमै सिलिन्डरसमेत उत्पादन गर्ने नेपाल ग्यास उद्योगले एलपीजीमा अक्सिजन भर्न सकिनेबारे अध्ययन गरेको उद्योगका एक अधिकारीले बताए ।

‘सिलिन्डर आखिर सिलिन्डर नैत हो मिल्छ भने भरौं भनेर प्राविधिक अध्ययन गराएका थियौं तर नसक्ने निश्कर्षमा पुगियो,’ उद्योगका ती अधिकारीले अनलाईनखबरसँग भने ।

खाना पकाउने ग्यासको सिलिन्डरले धान्ने प्रेसर अक्सिजन सिलिन्डरको तुलनामा निकै कमजोर हुने र दुई प्रकारका सिलिन्डरमा प्रयोग हुने फलामको मोटाईमा निकै अन्तर पाइएको ती अधिकारीको भनाइ छ ।

यता नेपाल अक्सिजन उत्पादक संघले भने एलपीजीमा अक्सिजन भर्छु भन्ने कुरा एक सय प्रतिशत गलत भएको बताएको छ । ‘यो विषयमा मैले पनि बहस भएको सुने, यो निकै लाजमर्दो कुरो हो र सय प्रतिशत गलत हो,’ संघका महासचिव नारायणदत्त तिमिल्सनाले भने, ‘अक्सिजनको एउटा सिलिन्डर २० हजार रुपैयाँमा हामीले खरिद गरिररहेका छौं, तीन हजारमा ग्यासको सिलिन्डर पाइन्छ । यहीबाट थाहा हुन्छ कि यो सिलिन्डर अक्सिजन भर्नका लागि होइन ।’

उनले अक्सिजन सिलन्डरको विकल्प नभएको बताए । अक्सिजन अभाव चुलिदैं गएपछि यसको उत्पादन, आपूर्तिको सम्पूर्ण विवरण उद्योग विभागले संकलन गरेको छ । जसअनुसार निजी क्षेत्रका उद्योगहरूसँग भएको हालसम्मको विवरणअनुसार देशभर एक लाख ८ हजार १६४ वटा अक्सिजन सिलिन्डर  रहेको उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले बताए ।

निजी अक्सिजन उद्योगहरूले उद्योग विभागमा बुझाएको विवरणअनुसार नेपालभर ६९ हजार ३५० वटा ठूला अक्सिजन सिलिन्डर छन् भने ३८ हजार ८१४ वटा साना सिलिन्डर छन् ।

काठमाडौं उपत्यकामा मात्रै ठूलो सिलिन्डर ४७ हजार र सानो २९ हजार ९१० वटा छन् । यस्तै काठमाडौं बाहिर २२ हजार ३५० वटा ठूलो र  ८ हजार ९०४ वटा साना सिलिन्डर रहेको महानिर्देशक भुसालले बताए ।

अक्सिजनको माग झण्डै ८० प्रशितले बढेका कारण सिलिन्डरहरू होल्ड हुने क्रम बढेको र भएका सिलिन्डर पर्याप्त नरहेको महानिर्देशक भुसालको भनाइ छ ।

नेपालमा ग्यास सिलिन्डर कति ? 

नेपाल एलपी ग्यास उत्पादक संघका अनुसार देशभर एक करोड ५० लाखको संख्यामा एलपी ग्यासका सिलिन्डर छन् । जसमध्ये दैनिक सरदर एक लाख ओटा सिलिन्डर रिक्तो हुने गरेको संघका अध्यक्ष गोकुल भण्डारीले बताए ।

‘सामान्य अवस्थाको खपत हेर्दा दैनिक एक लाख र मासिक ३० लाखभन्दा बढी सिलिन्डर रिफ्यूलिङका लागि जाने गरेको दखिन्छ,’ अध्यक्ष भण्डारीले भने ।

यता नेपाल आयल निगमले हालको सरदर बिक्री हेर्दा दैनिक ८० देखि ८५ हजार गोटा सिलिन्डर बजारमा खाली हुने गरेको बताएको छ ।

‘सातामा दुई दिन बिदा हिसाब गर्दा पाँच दिनमा हुने रिफ्यूलिङले दैनिक औषत एक लाख सिलिन्डर खाली हुनसक्छ,’ निगमका प्रवक्ता विनितमणि उपाध्ययले भने । निषेधाज्ञामा ग्यासको औद्योगिक र व्यापारिक खपत हृवात्तै घटेका कारण एक महिनाको आधि मात्रै सिलिन्डर हिसाब गर्ने हो भने झण्डै १५ लाख सिलिन्डर खाली भएको हुनसक्ने अनुमान गरिएको छ ।

Source:onlinekhabar.com

ताजा

संबन्धित समाचार

कालिका टोलको सरसफाई कार्यक्रम

ग्लोबल बैंकलाई कर्पोरेट कप सुपर सिक्सको उपाधि

देउखुरी बैकर्सको आयोजनामा कर्पोरेट कप सुपर सिक्स क्रीकेट टुर्नामेन्ट शुरु

देउखुरी बैन्कर्सद्वारा गढवामा शैक्षिक सामाग्री बितरण