कतै गएर बेस्सरी चिच्याउन मन लाग्यो– मेरो सरकार! तँ कहाँ छस्?

देविराम कुसारी,बखरिया दाङ ।

साँझको पाँच बज्नै आटेको थियो। बखरिया पुलचोकका सवै पसल तथा होटेल अघिल्लो बन्द नै छन्। बाटो, अनि टोल सारा सुनसान थियो।

बिज्ञापन

बखरिया दाङको तुलसीपुरबाट करिब ११ किलोमिटर दक्षिणमा रहेको एउटा चोक हो। सहरको कोलाहलबाट अलि पर कतै निस्कनुपरे बबई नदीको किनारामा जुर्रमुराउन थालेको यो एउटा सानो बजार सहरियाको गन्तव्य हुन आउँछ।

ट्याङ्कीमा पानी भरिएको हेर्नलाई छोराहरूलाई छतमा पठाएँको थिएँ। कान्छो छोरा ‘बाबा भुत भन्दै चिच्याउन थाल्यो।

जेठोले पनि ‘बाबा नदीमा सेता मान्छे आएका छन्’ डराउँदै आयो।

बिज्ञापन

मैले पनि के रैछ भनेर नदीमा हेरेको त साँच्चिकै सेता मान्छेले दुई ठाउँमा आगो बलेको देखेँ।

त्यसपछिका दिन रातहरू नदीतिरै हेरेर बितेका छन्।

एकातिर कोरोना भयावह भयो भन्ने सन्त्रासले आकुल भएका हामीलाई घर छेउमै खेपका खेप लासहरू जलेको हेर्न विवश छौं। यो पीडाले भरिएको भय र जीवनको यो भोगाइ शब्दमा कसरी व्यक्त गर्नु?

कोरोना महामारीका कारण दाङ र अरु जिल्लाबाट समेत शव जलाउन दैनिक तुलसीपुर उप–महानगरपालिका वडा नम्वर ११,१२ र १३ को संगम स्थल सितलपुर घाटमा आउन थालेका छन्।

घाट वरिपरिका हामी शितलपुर र बखरियावासीमा यतिसम्म त्रास भइसकेको छ कि, सायद त्यो अरुमा पनि होला। आफन्तलाई झन् कति पीडा होला?

गाउँका अधिकांश मानिसले यसको विरोध गर्नुपर्छ भने, मिडायामा उठाउनुपर्‌यो भने। पत्रकारितासँग जोडिएका कारणा धेरैले मलाई नै सुनाउँछन्।

मैले यो वेला ‘मानवता देखाउनुपर्छ संयम्, हौं भनेर सम्झाएको छु। बुझाउने कोसिस गरेको छु।

एकातिर कोरोनाका कारण मानिसको मृत्युको भयावह त छँदै त्यसमा पनि घरको आँगनमै लाशहरू जलिरहँदा कस्को मन पिरोलिँदैन र? तर, पनि हामीले मानवता जलाएका छैनौं।

कुनै लास त राम्रोसँग नजलाएरै छोडिन्छन्। आधा जलेर छोडिएका शरीर पनि हामीले फेरि जलाएका छौं।

घाटमा केही शवहरू पूरै नजलाएर छोडिएपछि मैले जिल्लाको कोरोना अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोण वलीसँग कुरा राखेँ। व्यवस्थापक वलीकै पहलमा शवलाई फेरि जलाउने काम भयो।

हाम्रो त्रासको ढोका यत्तिकैमा बन्द भएन। स्थिति अझ कारूणिक छ।

शुक्रबार राति। ८ बज्नै लागेको थियो।

एउटा डोजर, दुई वटा एम्बुलेन्स, केही मोटरसाइकल नदीको बगरमा आए।

केहीबेर नदीको उत्तरतिर नै रोकिए जहाँ लास जलाइन्छ। करिब १० मिनेटपछि नदीको दक्षिण वस्ती भएतिर आए।

फेरि के भएछ भनेर गाउँलेहरू डराउन थाले। गाउँका मानिसले तारन्तार मेरो मोवाइलमा फोन गर्न थालेपछि म बाहिर निस्केर हेरेँ।

वस्तीको छेउँमै कोरोना संक्रमितको लास गाड्ने तयारी भैरहेको थियो। गाउँलेहरूले विरोध गर्न थाले। मैले केही सम्झाएँ। कोरोना अस्पतालका व्यवस्थापक द्रोणका कारुणिक आग्रह मुटुमै ठोक्कियो– दाई यस्तो बेलामा मानवता देखाउनुपर्छ। गाउँलेलाई सम्झाइदिनुहोला।

त्यसपछि नदीको उत्तरतिर पानी ढलोदेखि ५० मिटर पर शव गाड्ने व्यवस्था भयो। जबकि नदी किनारामा हातैले खोस्रिए पनि पानी भेटिन्छ।

यसरी रातदिन आफ्नै आँगनमा जल्न अनि गाडिन आउने शवहरूले हामीलाई झस्काएका मात्रै छैनन्। कोरोना महामारीको भयावहको एउटा दारुण चित्र पनि देखाएका छन्।

यो विषयमा मैले तुलसीपुर उपमहानगरका मेयरका प्रेस सल्लाकार ओपेन्द्र बस्नेत, १२ वडा अध्यक्ष एंव प्रवक्ता सुर्यबहादुर डाँगी श्याम, १३ वडा अध्यक्ष विनोद पाण्डेसँग पनि कुराकानी गरेँ।

उहाँहरू गम्भिर हुनुभएको छ। सबै स्थानिय निकायसँग समन्वय गरी सम्वन्धित स्थानको शवदाह स्थल बनाउने र व्यवस्थापन गर्नका लागि पहल गर्नुभएको छ।

अहिले पनि धेरैले मलाई शव जलाउनका लागि दाउरा मिलाइदिनुपर्‌यो भनेर रोइकराइ गरिरहेका हुन्छन्।

मसँग के उपाय छ र?

यस्तो बेलामा स्थानीय सरकार, त्यहाँका जनप्रतिनिधि नजाग्ने हो भने स्थिति अझै भयावह हुने सम्भवना उत्तिकै बढेको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलकै गृह जिल्ला हो दाङ। यहीँबाट उनले चुनाव जिते। मुख्यमन्त्री भए। अहिले कोरोना संक्रमणले दाङलाई खानै थालिसकेको छ।

अस्पतालमा अक्सिजन छैन। बेड छैन। संक्रमित अस्पतालकै पिँढी र सिढीमा सुत्न बाध्य छन्। मृत्यु भएकाहरूलाई जलाउने ठाउँ छैन। तर मुख्यमन्त्री पोखरेल भने सत्ताको लुछाचुँडीमा छन्। यता कोरोनाको ताण्डव नृत्य छ, उता सत्ताको तमासा।

संक्रमणसँग मृत्यु हुनेको संख्या पनि उत्तिकै बढिहरेको छ। जिउँदा बिरामीहरूलाई अस्पतालमा ठाउँ छैन, मृत्यु भइसकेकाहरूलाई जलाउने ठाउँ छैन।

वस्तीबीचमा, आँगन छेउमा लास जलाउने र गाड्नुपर्ने बाध्यता छ। योभन्दा भयावह अरु के हुनसक्छ?

लेख्दालेख्दै तुलसीपुरबाट एकजना साथीको फोन आयो – ‘देवीराम जी प्लिज दाउराको जोहो गरिदिनु न! म हजरलाई भगवानै मान्छु।’

त्यसपछि उहाँ हिक्का छोडेर रुन लाग्नुभयो। उहाँका दाजु कोरोना संक्रमण भएर बित्नुभएको थियो।

कसैको ज्यान बचाउने पो भगवान। स्थिति यस्तो आइसक्यो कि लास जलाउन सहयोग गर्नेलाई पनि भगवान भन्नुपर्ने!

कतै गएर बेस्सरी चिच्याउन मन लाग्यो– मेरो सरकार! तँ कहाँ छस्?

source : Aayomail.com

ताजा

संबन्धित समाचार

pokhara

पोखरामा विमान दुर्घटना,आन्तरिक तर्फ इतिहासकै ठूलो क्षति

rekha-sharma-and-shankar-pokheral

नेकपा माओवादी केन्द्रकी रेखा शर्माले फराकिलो अग्रता

ghi

डिभाईन टेम्पल एकेडेमीमा मेगा बैंकको बित्तिय साक्षरता कार्यक्रम

sandeep

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश